RCI



Euro 6 (BS6) Vehicle Technology तालिम शुभारम्भ ।

Euro 6 (BS6) Vehicle Technology तालिम शुभारम्भ ।

Euro 6 (BS6) Vehicle Technology तालिम शुभारम्भ ।
बुटवल, २७ माघ २०८२
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देहीको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा अटो मोबाइलसँग सम्बन्धीत उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको लागि माघ २७ गतेदेखि १६ दिने (९६ घन्टे) Euro 6 (BS6) Vehicle Technology  निःशुल्क तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्घघाटन समारोहमा बोल्नुहुँदै उद्योग क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्ति अभाव न्यूनीकरणका लागि रूपन्देही उद्योग संघले निरन्तर तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।Euro 6 (BS6)  जस्ता आधुनिक प्रविधि सम्बन्धी तालिमले अटोमोबाइल उद्योगको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । वहाँले Euro 6 (BS6) प्रविधिले सवारी साधनबाट निस्कने प्रदूषण उल्लेखनीय रूपमा घटाई जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देहीका अध्यक्ष प्रेम गौचनको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले नेपालजस्तो विकासोन्मुख देशका लागि आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सवारी प्रविधि अपनाउनु समयको माग भएको बताउनुभयो । साथै, यस्तो प्रविधिबारे सवारी व्यवसायी, प्राविधिक तथा सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रेमबहादुर बोहराले तालिमको शुभारम्भ गर्दै सवारी साधन प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेका बेला प्राविधिकहरू नयाँ प्रविधिमा अद्यावधिक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्न यस्ता प्रविधिमैत्री तालिमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
तालिमको उद्घाटन समारोहमा संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख धुर्वराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै विश्वव्यापी रूपमा लागू हुँदै गएको Euro 6 (BS6) मापदण्ड वातावरणमैत्री, इन्धन–दक्ष तथा आधुनिक सवारी प्रविधिको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो । वहाँले यस्तो तालिमले नेपाली अटोमोबाइल क्षेत्रमा दक्ष प्राविधिक उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रमुख प्रशिक्षक ई.सन्दीप लेखकले तालिम अवधिभर Euro 6 (BS6) इन्जिन प्रणाली, उत्सर्जन नियन्त्रण प्रविधि, फ्युल म्यानेजमेन्ट, डायग्नोस्टिक टेक्नोलोजी तथा व्यवहारिक अभ्यासमार्फत सैद्धान्तिक र प्रायोगिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो ।
संस्थाका महासचिव पुनित पोखरेलको सञ्चालन भएको कार्यक्रममा अटोमोबाइल तथा सम्बन्धित क्षेत्रका प्राविधिकहरूको सहभागिता रहेको छ । आधुनिक, वातावरणमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सवारी प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।
कार्यक्रममा १४ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको छ ।