RCI



डिजिटल मार्केटिङ तालिम समापन  ।

डिजिटल मार्केटिङ तालिम समापन  ।

डिजिटल मार्केटिङ तालिम समापन  ।
बुटवल, ०८ फागुन २०८२
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि सञ्चालन गरिएको १६ दिने (९६ घण्टे) निःशुल्क डिजिटल मार्केटिङ तालिमको समापन गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले समापन समारोहमा बोल्नुहुँदै डिजिटल मार्केटिङ तालिम कार्यक्रमले सबैलाई नयाँ सोच, नवीन प्रविधि र असीम सम्भावनासँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको र सूचना प्रविधिको तीव्र विकाससँगै विश्व डिजिटल रूपान्तरणको यात्रामा अगाडि बढिरहेको वर्तमान परिप्रेक्ष्यमा यस्ता सीपमूलक कार्यक्रमहरूको महत्व अझै बढेको बताउनुभयो ।
यस तालिममार्फत सहभागीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीपसमेत हासिल गर्नुभएको छ भन्ने विश्वास व्यक्त गर्दै अबको चुनौती भनेको प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गरि डिजिटल प्लेटफर्मको सदुपयोग गर्दै उद्यमशीलता विकास, रोजगारी सिर्जना र संस्थागत सुदृढीकरणतर्फ अग्रसर हुनु आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रमलाई सफल बनाउन निरन्तर मार्गदर्शन गर्नुहुने प्रशिक्षकज्यूहरू, व्यवस्थापनमा खटिनुहुने सम्पूर्ण टिम तथा सक्रिय सहभागिता जनाउनुहुने सबै सहभागीहरूलाई  आभार व्यक्त गर्नुभयो । 
तालिमका प्रशिक्षक इन्जिनियर विनय शर्माले डिजिटल युगमा सीप नै शक्ति भएकोले तालिममा सिकेका विषय—सामग्री निर्माण, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल ब्रान्डिङ र बजार रणनीति—यी केवल पाठ्यक्रमका अंश नभई यी भविष्य निर्माणका औजार भएको बताउनुभयो । अबको बाटो तपाईंहरूको हातमा छ, सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुहोस्, नयाँ प्रयोग गर्न नडराउनुहोस्, र निरन्तर सिकाइलाई जीवनशैली बनाउनुहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीको रूपमा लभली ट्रेडर्समा कार्यरत कृष्ण पोखरेलले डिजिटल मार्केटिङ तालिममा सहभागी हुन पाउनु आफ्नो लागि अत्यन्तै फलदायी अनुभव रहेको, छोटो अवधिमा डिजिटल प्लेटफर्मको सही प्रयोग, सामग्री निर्माण, लक्षित दर्शक पहिचान र ब्रान्ड प्रवद्र्धनका व्यावहारिक सीपहरू सिक्ने अवसर पाएका,े प्रशिक्षक ज्यूहरूको सरल प्रस्तुति र व्यवहारिक उदाहरणहरुले सिकाईलाई अझ सहज र प्रभावकारी बनाएको बताउनुभयो ।
त्यसैगरी प्रशिक्षार्थिकै रूपबाट सौगात  सुज सेन्टरकी सञ्चालिका लक्ष्मी ज्ञवालीले डिजिटल मार्केटिङ तालिमले आफ्नो सोच्ने दृष्टिकोण नै परिवर्तन भएको र सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यम मात्र नभई व्यावसायिक अवसर र व्यक्तिगत ब्राण्ड निर्माणको शक्तिशाली साधनका रुपमा बुझ्ने मौका पाएको बताउनुभयो ।
कार्यक्रममा १६ उद्योगबाट २० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघ सिप विकास ईकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थियो । 
तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो । स्थानीय उद्योग तथा पेशाकर्मीलाई डिजिटल रूपमा सक्षम बनाउँदै विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।