RCI



रुपन्देही उद्योग संघमा अधिकतम खुद्रा मूल्य (MRP) विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न ।

रुपन्देही उद्योग संघमा अधिकतम खुद्रा मूल्य (MRP) विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न ।

रुपन्देही उद्योग संघमा अधिकतम खुद्रा मूल्य (MRP) विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
श्रावण ३१,बुटवल । 

रुपन्देही उद्योग संघको आयोजनामा उद्योगी व्यवसायीहरूका लागि अधिकतम खुद्रा मूल्य (MRP) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सहभागी उद्योगी व्यवसायीहरूलाई स्वागत गर्नुहुँदै व्यवसाय सञ्चालनका क्रममा मूल्य निर्धारण, मूल्यसूची तथा उत्पादनमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ । वहाँले उद्योग व्यवसायको विकाससँगै व्यवसायीहरूले विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रशिक्षणले उद्योगी व्यवसायीलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा वाणिज्य विभागका विषय विज्ञ अमित झाले अधिकतम खुद्रा मूल्य (MRP) सम्बन्धी विषयमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणका क्रममा अधिकतम खुद्रा मूल्य को अवधारणा, वस्तुको मूल्य निर्धारण तथा उपभोक्तालाई मूल्यसम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराउने विषयमा जानकारी गराइएको थियो ।
प्रशिक्षक झाले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा सम्बन्धित कानुनी व्यवस्था र मापदण्डलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उत्पादन तथा बिक्री–वितरणका क्रममा मूल्यसम्बन्धी पारदर्शिता कायम गर्नुपर्ने धारणा राख्नुभएको थियो । वहाँले उत्पादनको प्याकेजिङ तथा लेबलमा मूल्यसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गर्ने, उपभोक्तालाई वास्तविक मूल्यबारे जानकारी गराउने तथा व्यवसाय सञ्चालनका क्रममा प्रचलित नियमहरूको पालना गर्ने विषयमा समेत सहजीकरण गर्नुभएको थियो ।
रूपन्देही उद्योग संघसँग आबद्ध उद्योगीरुले (MRP) कार्यान्वयन, मूल्य निर्धारण, बजारमा देखिने व्यवहारिक समस्या तथा उद्योग व्यवसायमा पर्ने प्रभावका विषयमा जिज्ञासा तथा प्रश्नहरू राखेका थिए । सहभागीहरूका प्रश्न तथा जिज्ञासामाथि प्रशिक्षक झाले सम्बन्धित विषयमा स्पष्ट पार्दै व्यवहारिक समाधानका उपायहरूबारे जानकारी गराउनुभएको थियो ।
रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रमको समापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले सहभागी उद्योगी व्यवसायी, प्रशिक्षक तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । वहाँले उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, नीतिगत तथा व्यवहारिक विषयमा उद्योगी व्यवसायीलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभएको थियो ।
उद्योगी व्यवसायीलाई अधिकतम खुद्रा मूल्य सम्बन्धी प्रचलित व्यवस्था, मूल्य पारदर्शिता र उपभोक्ता अधिकारका विषयमा सचेत गराउँदै व्यवसाय सञ्चालनमा देखिने व्यवहारिक अन्योललाई कम गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको साथै उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि, कानुनी तथा नीतिगत जानकारी प्रवाह र उद्योग व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रियालाई प्राथमिकता दिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा संघका पदाधिकारी ,वस्तुगत समिति, सल्लाहकार समिति, उद्योगी व्यवसायीहरूको व्यापक सहभागिता रहेको थियो ।